इन्द्रेणीमा केकी र अन्जनाले खेले देउसी भैलो : कार्तिक १४ बाट रिलिज हुने ‘परान’को प्रचार सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- तिहार सकिए लगत्तै कार्तिक १४ बाट ‘परान’ सिनेमा रिलिजको तयारीमा छ। यसै सिनेमाका मुख्य दुई नायिका केकी अधिकारी र अन्जना बराइलीले यमपन्चकको पहिलो दिनको साँझमा देउसी खेलेका छन्। आइतबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो विशेष कार्यक्रममा ‘परान’ सिनेमा टिमको सहभागिता थियो।जसमा नायिकाद्धय केकी र अन्जनासँगै सिनेमाका निर्देशक दीपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई लगायतको उपस्थिति थियो। साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो। जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर जंग श्रेष्ठले ‘परान’ सिनेमाका कलाकारहरूलाई स्वागत गरेसँगै देउसी भट्याएका थिए। साथै केहीबेर गायक सरोज लामिछानेले देउसी भट्याएर स्वागत गरे। त्यसपछि निर्देशक दीपक प्रसाद आचार्यले सिनेमाबारे जानकारी दिँदै ‘परान’ विशेष शब्दहरू राखेर देउसी भट्याए। त्यसपछि नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन्।

साथै अर्की नायिका अन्जना बराइलीले पनि तिहारका आफ्नो बाल्यपनका रमणीय पलहरू सम्झिएकी थिइन्। प्रोडक्सन म्यानेजर अनिश अधिकारीले तिहार विशेष मिठो गीत गाएर माहोल रमाइलो बनाएका थिए। नायिका केकीले तिहारमा सबैतिर झिलीमिली हुने भएकाले पनि तिहार सुरु भएसँगै खुसीयाली छाएको बताइन्।

साथै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिकतालाई विशेष ध्यानमा राख्दै संस्थाले इन्द्रेणी समाजसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम राखिएको बताए। साथै उनले मौलिकता बोकेको सिनेमा भएकाले ‘परान’ टिमलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको पनि बताएका थिए।

सम्बन्धित समाचारसबै