सिनेसुत्र, बिराटनगर- ‘वरिष्ठ बलराम’ सिनेमाको अग्रिम बुकिङ खुला भएको छ। दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो।मल्टिप्लेक्ससहितका हलमा सिनेमाले राम्रो शो पाएको छ। नेपाली सिनेमाको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ।
अग्रिम बुकिङ पनि देखिन थालेको छ। “धेरै सिनेमा रहेकाले सोही अनुसारको शो हाम्रो सिनेमाले पाएको छ” निर्देशक सुरेन्द्र पौडेलले भने, “रिलिजपछि हाम्रो सिनेमाको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकि हामीले राम्रो सिनेमा बनाएका छौँ।”
‘वरिष्ठ बलराम’ ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन्। ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले सिनेमा पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ। ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। कात्तिक ६ गते भाइटीकाबाट यो सिनेमा रिलिज हुँदैछ।
‘वरिष्ठ बलराम’ मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ। सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ।
सिनेमाका बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन्। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्। कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन्। लाइन प्रोडुसरमा राम विष्ट छन्।
मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ। यो सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।


