‘वरिष्ठ बलराम’को टिम मोफसल यात्रामा : राम्रो वर्ड अफ माउथपछि देशभर दर्शकको भीड

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो । काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो ।शुक्रबारदेखि ‘वरिष्ठ बलराम’को टिम पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ । हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । “दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहनु भएको छ । हेर्ने अधिकांश दर्शकले नेपाली मौलिक कथासहितको सिनेमा भन्दै हेर्नैपर्ने सिनेमा भन्नु भएको छ,” निर्देशक पौडेलले भने, “सिनेमाले दर्शकको मन जित्न सफल भएको छ । जसरी काठामाडौंका दर्शकले सिनेमा मनपराइदिनुभयो, त्यस्तै मोफसलका दर्शकले पनि उत्कृष्ट सिनेमा भएको बताइरहनु भएको छ ।”निर्देशक पौडेलले धेरै शो हाउसफूल भएका र हाउसफूल नभएका शोमा पनि ७० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको जानकारी दिए । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सीमा प्रदर्शन भइरहेको छ ।

रिलिजको पहिलो दिनदेखिनै यो सिनेमा हाउसफूल दर्शकहरूको साथ पाउँदै आइरहेको छ भने कतिपय हलहरूमा ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ ।राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ । ‘वरिष्ठ बलराम’को अकुपेन्सी राम्रो भएपछि केही हलहरूले आज शनिवारलाई शोमा समेत थप गरेका थिए ।

पहिलो दिन बिहानैदेखि धेरै शोहरू हाउसफूल हुनु र दोस्रो दिन पनि सिनेमा हलमा दर्शकको उपस्थिति उच्चसँगै हाउसफूल हुनुले सिनेमा को राम्रो वर्ड अफ माउथ बनेको बुझाउँछ । दयाहाङ राई र विजय बराल स्टारर यो सिनेमा ले पहिलो दिनदेखि नै दर्शकको सकारात्मक रिभ्यु पाएसँगै सिनेमा को निर्माण पक्ष व्यापारप्रति आशावादी देखिएको छ ।

सिनेमा ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो सिनेमा मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।सिनेमा को कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको सिनेमा लाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो ।

सम्बन्धित समाचारसबै