‘परान’को प्रचारका लागि अमेरिकाबाट नेपाल आइन् अभिनेत्री पूजा चन्द

0 Shares

सिनेसुत्र, बिराटनगर- यहि कार्तिक १४ गतेबाट रिलिज हुने सिनेमा ‘परान’ को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन्। उनी आज (सोमबार) बिहान ११ः१० मा नेपाल ल्याण्ड भएकी हुन्। अभिनेत्री चन्दलाई ‘परान’का निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए।विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो यात्रामा आफ्नो मोबाइलमा भएका सिनेमाका क्लिप्सहरू हेरेर बिताएको र सिनेमाको प्रचारका लागि करिब एक महिना नेपाल रहने जानकारी दिइन्। ‘परान’लाई लिएर आफू निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ।

‘परान सिनेमा मेरा लागि एकदमै विशेष छ। प्रमोसनका लागि पूर्ण समय दिनेछु। पारिवारिक कथामा बनेको यो सिनेमा सबैलाई मनपर्ने मेरो विश्वास छ,’ उनले भनिन्। ‘निर शाह ज्यूसँग काम गर्न पाउनु मेरो लागि अर्को ठूलो खुसी हो।’‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो सिनेमा हो। सिनेमामा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ।रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरूङको सम्पादन रहेको सिनेमा ‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो।

यो कम्पनी देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापना भएको हो, जसले गर्दा सिनेमा प्रति दर्शकको अपेक्षा झनै उच्च रहेको छ।

सम्बन्धित समाचारसबै