सिनेसुत्र, बिराटनगर- सिनेमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए ।
“हालसम्म हाम्रो सिनेमा ले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ,” निर्माता तामाङले भने, “अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो सिनेमा चलिरहेको छ ।”
भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले जानकारी दिए । “रगतको मात्रै होइन भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश दर्शकले निकै धेरै मन पराइरहनु भएको छ,” निर्माता तामाङले भने, “स्थानीय स्रोतसाधनको दोहन र लभस्टोरी पनि मन पराइदिनु भएको छ ।”
दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरेको पनि दर्शकले खुलेर तारिफ गरिरहेको उनले बताए । सिनेमा ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।
सिनेमाको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको सिनेमा लाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।

