सिनेसुत्र, बिराटनगर- आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘पीआर’ मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार सिनेमा मा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युट्युबबाट रिलिज गरेको हो। गीतमा सिनेमा का मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ।
उनीहरूको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ। गीतमा भिम बी.सी.को संगीत, टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियोग्राफी रामजी लामिछानेको छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस सिनेमामा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. दिक्पाल कार्की रहेका छन्।
यस सिनेमामा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथा रहेको निर्देशक शोभित बस्नेतले बताए। उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरूप्रति गरेको अपेक्षा सिनेमामा समेटिएको छ। गीत रिलिजपछि निर्देशक बस्नेतले भने, ‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु।’
यस सिनेमाको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। बन्दे प्रसादको सम्पादन रहेको यो सिनेमाको लेखन गणेश बुढाथोकीले गरेका छन्। त्यसैगरी यो सिनेमाको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।