सिनेसुत्र, बिराटनगर- आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले सिनेमा को कथावस्तु झल्काउने गरी दुई वटा पोस्टर सार्वजनिक गरेको हो। ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनुपर्यो’ भन्ने स्लोगन राखिएको छ। यस शब्दले पनि आमा–बुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ।
एउटा पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुशी देखिएका छन्। सोही ठाउँमा साइग्रेस पोखरेल पनि खुशी मुद्रामा देखिन्छन्। त्यसपछि अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान–श्रीमतीको भूमिकामा रहेका विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेका देखिन्छन् भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य देखिएका छन्।
ग्रामीण परिवेशमा आधारित सिनेमा ले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण भएको यो सिनेमा लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको यो सिनेमा मा आर्या पन्तको प्रस्तुति रहेको छ।
सिनेमा मा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम लगायत कलाकार रहेका छन्। सिनेमा ‘आ बाट आमा’ मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमा को डिओपीमा नवराज उप्रेती रहेका छन्। सिनेमा को संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्। यो सिनेमा को विदेश प्रदर्शन अधिकार केही देशमा बिक्री समेत भइसकेको छ। एक दुई साताअघि नै यो सिनेमा लाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यो सिनेमा को डिजिटल अधिकार ओएसआर डिजिटलको छ।

