सिनेसुत्र, बिराटनगर- बिराटनगर -१९, मिलनचोकस्थित युमि स्कुलका कक्षा ७, ८ र ९ का विद्यार्थी तथा शिक्षक सहित करिब ५० जनाको समूह आज बहुचर्चित सिनेमा ‘मन बिनाको धन’ हेर्न सिटी सिनेमा हल, बिराटनगर पुगेका छन्।
विद्यालयका अनुसार उक्त सिनेमाले विद्यार्थी र शिक्षक बीचको सम्बन्ध, भावनात्मक दूरी, अनुशासन र पारिवारिक मूल्य जस्ता संवेदनशील पक्षलाई निकै गहिरोसँग प्रस्तुत गरेको छ। अभिभावक तथा दर्शकबाट “विद्यार्थीहरूले हेर्नुपर्ने सिनेमा” भन्ने सकारात्मक प्रतिक्रिया आएपछि स्कुलले टोलीले विशेष रूपमा सिनेमा हेर्ने कार्यक्रम आयोजना गरिएको बताए ।
सिनेमा हेरेपछि धेरै विद्यार्थीहरू भावुक बनेका देखिए। उनीहरूले अशोक दर्जीको अभिनयलाई अत्यन्त प्रभावकारी भन्दै स्कुल,घरमा सामान्यतया घट्ने वास्तविक घटनाहरूलाई सिनेमाले जीवन्त र सरल ढंगले उतारेको बताएका छन्।
कतिपय विद्यार्थीहरूले विशेषगरी अन्त्यतिर आँसु रोकिरहन कठिन भएको अनुभव सुनाए। उनीहरूका अनुसार सिनेमाले शिक्षकप्रतिको सम्मान, साथी-भाइबीचको समझदारी, गल्तीपछि हुने पछुतो, परिवारको महत्त्व लगायतका विषयहरू मार्मिक रहेको प्रतिक्रिया दिएका छन ।
सिनेमाभर हल शान्त बनेर बिद्यार्थीहरुले मनोयोगपूर्वक हेरेको दृश्य आफैंमा कथा प्रस्तुतीको प्रभावकारिता पुष्टि गर्ने खालको थियो। विद्यार्थीहरूले ‘मन बिनाको धन’ लाई एक पटक अवश्य हेर्नुपर्ने, शिक्षामूलक र मन छुने सिनेमाका रूपमा प्रशंसा गर्दै निर्देशक एवं कलाकारहरूको मेहनतको उच्च मूल्यांकन गरेका छन्।
सिनेमामा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमामा टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘मन बिनाको धन’लाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सिनेमाको निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् भने , जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।
