सिनेसुत्र, बिराटनगर- दश वर्षपछि सिनेमा ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका छन्। उनले मंगलबार नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै सिनेमा रिलिजका लागि आफू अष्ट्रेलिया र न्यूजिल्यान्ड प्रस्थान गर्न लागेको जानकारी दिए।
उनले अष्ट्रेलियामा मात्र होइन, न्यूजिल्यान्डमा पनि बक्स अफिसमार्फत नै सिनेमा प्रदर्शन हुने बताउँदै त्यसकै तयारीका लागि आफू दुवै देशतर्फ लागेको बताए। ‘म अहिले अष्ट्रेलिया र न्यूजिल्यान्ड जाँदै छु, यही ‘पीआर’को सम्बन्धमा’ उनले भने, १०-१२ दिनका लागि। न्यूजिल्यान्डमा पनि बक्स अफिसमार्फत नै सिनेमा लगाउन भनिरहनुभएको छ, त्यसकै तयारीमा म निस्किन लागेको हुँ।
तीन महिनाअघि नै उनले अष्ट्रेलियाका विभिन्न शहरमा यो सिनेमा प्रदर्शन गरिसकेका छन्, जहाँ दर्शकले ‘आफ्नै घरको कथा’ भएको प्रतिक्रिया दिएका थिए। बस्नेतका अनुसार अष्ट्रेलिया र न्यूजिल्यान्डपछि पोर्चुगल लगायत अन्य देशमा पनि सिनेमा प्रदर्शनका लागि तयारी भइरहेको छ। यो बाहेक अन्य देशमा पनि केहि दिनमा नै फिल्म प्रदर्शनको टुङ्गो लाग्नेछ।’
उनले थपे,‘एक त मैले छोरी (सलिना)बाट नै पीआरको कथा पाएको हो। जब एउटा बच्चा विदेश जाँदा हामी बाउआमा नेपालमा बसेर हाम्रो दिमागमा के हुन्छ भने हरेक अष्ट्रेलिया,क्यानडा,जापानमा पैसाको रुख फल्छ। र त्यो पैसा टिपेर हामीलाई पठाउनु पर्यो भन्ने सोच हुन्थ्यो। मलाई पनि हुन्थ्यो। जब मलाई थाहा भयो कि होइन रहेछ।’

उनले आफ्नो छोरी अष्ट्रेलिया जाँदा र आफु पनि त्यहाँ पुगेर हेर्दा पैसा बोटमा हैन रहेछ। मेहनतले मात्रै हुने रहेछ भन्ने देखेको र सोही कथालाई आफुले सिनेमा ‘पीआर’मार्फत भन्न लागेको बताए। उनी आफ्नो सिनेमा ‘पीआर’नेपाली दर्शकले मन पराइदिनेमा ढुक्क देखिए। केहि दिनअघि यो फिल्ममा समावेश गीत ‘टाटा बाई बाई’लाई दर्शकले अत्यधिक मन पराइदिएको र सोही अनुसार फिल्म हेर्न दर्शक उत्सुक रहेको उनको भनाई थियो।
उनी विदेशका विभिन्न हलमा ‘पीआर’ प्रदर्शनका लागि व्यस्त छन्। उनका अनुसार जापानको प्रदर्शन अधिकार त सोल्ड-आउट भइसकेको छ। जापानमा सिनेमा वितरण गर्दै आएको युना डिजिटलले यो अधिकार खरिद गरेको हो। यही मंसिर २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदै गरेको यो सिनेमा प्रचारप्रसारका लागि केही दिनमै उनी नेपाल फर्कनेछन्।
‘पीआर’मा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायत कलाकारले अभिनय गरेका छन्। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिने छन्।
यस सिनेमाका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। लेखन गणेश बुढाथोकीले, सम्पादन बन्दे प्रसादले, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका हुन्। सिनेमा वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

