सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ। मंसिर १८ गते रिलिज हुने सिनेमाको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो। सुुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा सुरेश बादलको शब्दरचना छ। प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ।
सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ। प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ। गीतको भिडियोमा सिनेमाका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन्। सिनेमाका फुटेज समावेश गरिएको भिडियोमा तराई – मधेश देख्न सकिन्छ।
‘अभिमन्यु : च्याप्टर-१’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। सुशान्त गौतमले निर्देशन गरेको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस सिनेमामा मुकेश खनालको लेखन रहेको छ।
सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्। शरद महतोको डिओपी रहेको यस सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ। भिडियो हेर्नुहोस :