नेवारी ट्युनको नाममा सौगात मल्लको मुख्य भूमिका रहेको ‘बब डाई’ सिनेमा छायांकन सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- नयाँ सिनेमा ‘बब डाई’को छायांकन सुरु भएको छ। रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो सिनेमाको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो। चन्द्रागिरीबाट छायांकन सुरु भएको ‘बब डाई’को ४५ दिनको छायांकन तालिका तोकिएको छ। यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ।

सिनेमालाई प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन्। यसअघि ‘मोक्ष’ सिनेमाका निर्देशन गरेका प्रबिनले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। निर्देशक श्रेष्ठका अनुसार ‘बब डाई’मा किर्तिपुरकै कथा छ। सिनेमाको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, “खासमा बब डाई भनेको बब दाई हो। नेवारी ट्युनमा दाईलाई डाई भनिने भएकाले नाममा त्यसरी राखेका हौं।” उनका अनुसार ‘बब डाई’को भूमिकामा सौगात मल्ल देखिनेछन्।सिनेमामा सौगात मल्लसँगै, सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ।

सिनेमामा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ। सिनेमाको मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् भने सहायक निर्देशकमा दिनेश बहादुर राउत छन्। सिनेमालाई श्याम तामाङको टिमले खिच्दै छ भने प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन्। निरपेश रुपाखेती कास्टिङ डिरेक्टरको रुपमा छन् भने सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर हुन्।

पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ। सिनेमामा कोरियोग्राफी सृष्टि महर्जनको छ भने सहायक निर्देशनमा बिवेक राज भट्ट र आयुष दाहाल पनि छन्। सिनेमाका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन्। सिनेमाको प्रदर्शन मिति तोकिएको छैन।

सम्बन्धित समाचारसबै