सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बाटुलो जून’को औपचारिक निर्माण प्रक्रिया सुरु भएको छ। सनराइज पिक्चर्स प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको यस सिनेमाको शुक्रवार पाटनस्थित बङ्गलामुखी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजासहित ‘शुभ साइत’ गरिएको हो।
सन् २०१६ मा ‘ड्रिम्स’ रिलिज भएपछिको झन्डै १० वर्षको अन्तरालपछि अभिनेता तथा निर्माता भुवन केसीले यस सिनेमामार्फत निर्देशनमा पुनरागमन गरेका छन्। यो सिनेमामा स्टार अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहनेछन्, जसलाई अभिनेत्री द्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन्।
निर्देशक केसी स्वयं पनि प्रमुख अभिनयमा देखिने यस सिनेमामा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहनेछ।
निर्देशक भुवन केसीका अनुसार ‘बाटुलो जून’ विशुद्ध ग्रामीण परिवेशको प्रेमकथामा आधारित छ। निर्माता जिया केसीले सिनेमाको विषयवस्तुबारे थप प्रकाश पार्दै भनिन्, “दर्शकले यसमा अनमोललाई पहिलेका सिनेमाभन्दा बिलकुलै भिन्न लुक्स र अवतारमा देख्न पाउनुहुनेछ। हामी विश्वस्त छौँ, यो कथा नेपाली समाजको प्रतिनिधित्व गर्ने, हरेक परिवार र पछिल्लो पुस्ताका युवायुवतीहरूको आफ्नै कथा बन्नेछ।”
‘बाटुलो जून’मा जिया केसीसँगै भविष्य खड्काले निर्माण साझेदारी गरेकी छन्। खड्का पछिल्लो हिट सिनेमा ‘जेरी अन टप’की निर्मात्री हुन्। निर्माण लागतसम्बन्धी प्रश्नमा खड्काले ‘उत्कृष्ट र स्तरीय सिनेमा निर्माणका लागि कुनै पनि सम्झौता नगरिने’ स्पष्ट पारिन्।
अभिनेता अनमोल केसीले मुहूर्त समारोहमा बोल्दै यस सिनेमामा आफूलाई बुबा भुवन केसीले ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’ जस्ता कालजयी सिनेमामा निभाएको भूमिका र लुक्सको नजिक पाएको भन्दै घुमाउरो पाराले आफ्नो बुबाको सिनेमाटिक विरासतलाई अगाडि बढाउने सङ्केत गरे। उनले यस पटक बोली र भाषा शैली लगायत धेरै कुरामा भिन्न तरिकाले प्रस्तुत हुन लागेको बताउँदै सम्पूर्ण टिमको सहकार्यले सिनेमा सफलता पाउने विश्वास व्यक्त गरे।
अभिनेत्री द्वय प्रिन्सी र नेन्सीले आफूहरू अनमोल केसीको फ्यान भएको बताउँदै उनीसँग स्क्रिन सेयर गर्न पाउनुलाई गर्वको विषय र महत्त्वपूर्ण सिकाइको अवसरको रूपमा लिएको बताए। निर्माण टिमका अनुसार पहिलो चरणको छायाङ्कनका लागि ४५ दिनको तालिका निर्धारण गरिएको छ। सिनेमा छायाङ्कन काठमाडौं, ढोरपाटन, काभ्रेपलान्चोक, चित्लाङ र पोखरा लगायतका रमणीय स्थलहरूमा गरिनेछ।
यस सिनेमामा तेजबिक्सम केसी कार्यकारी निर्माता रहेका छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले गरेका हुन्। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् भने छायाङ्कन राजेश श्रेष्ठको रहनेछ। रेनशा वान्तवा राईले सिनेमा कोरियोग्राफी सम्हाल्नेछिन्।