सिनेसुत्र, बिराटनगर- सिनेमा ‘परालको आगो’ ले सुटिङ थालेको ४० दिनमै छायांकन सम्पन्न गरेको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो सिनेमा मंगलबार सकाएको हो। सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक–फरक लुक्सका तस्विर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो सिनेमा आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए।
उनले भने, ‘मैले अरु सिनेमा प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु सिनेमा पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो सिनेमा रिलिज गर्ने तयारीमा छु। उनले साथी-भाईको सिनेमा सम्मान गर्दै आफ्नो डेटमा अरुले सिनेमा नजुधाई दिन समेत आग्रह गरे। उनले थपे, ‘एकैचोटी धेरै सिनेमा हलमा आए निर्माता तथा हल व्यवसायीहरूलाई धेरै नोक्सानी हुन्छ। ग्यापमा आउँदा निर्माता र हल दुबै पक्षलाई फाइदा होस् भन्ने सोचले सबै मेजर डेट छोडेर बैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु।’
उनले सिनेमाका चारवटा गीत सहित सम्पूर्ण छायांकन पूरा भएको र रिलिज डेट समेत तोकेको बताए। जेनजी आन्दोलन चलिरहेको बेला छायांकनमा अवरोध भए पनि टेक्निसियन तथा निर्देशकको खटाइले काम छिटो सकिएको बताए। उनका अनुसार यो सिनेमाको छायांकन सेड्युल ३० दिनको थियो। तर कलाकार, टेक्निसियनलगायतको अहोरात्र मेहनतका बीच जेनजी आन्दोलन, वर्षा र पहिरोका कारण सेड्युलभन्दा १० दिन ढिलोगरी छायांकन सकिएको निर्माता पोखरेलले बताए।
‘परालको आगो’ हिमाली नयनाभिराम लोकेसनमा ४० दिन लगाएर नेपाली माटोको सुगन्ध आउने सिनेमालाई ठूलो क्यानभासमा छायांकन गरेका छौँ। निर्माता पोखरेलले भने, ‘काम एकदमै उम्दा भएको छ। सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापादेखि बाल कलाकार एन्जिला बानियाँसम्म सबैले उत्कृष्ट काम गर्नु भएको छ।’ साथै करिब ६०० जना जुनियर आर्टिष्टमा खर्च गरेर कठिन परिस्थितिमा पनि राम्रो लोकेसन र कथाको मर्मअनुसार सिनेमाको काम गरिएको बताए उनले थपे, अहिलेको समयमा कन्टेन्ट नै बलियो हुनुपर्छ। हाम्रो कन्टेन्ट बलियो छ र धेरै राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ। सिनेमाका लागि कुनै कुरामा कम्प्रोमाइज गरेका छैनौँ।
गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो सिनेमामा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार एन्जिला बानियाँ रहेका छन्।
सिनेमालाई कलाकारहरूले आफ्नो भूमिकालाई सबल बनाउन काठमाडौंमा वर्कसप समेत गरेका थिए। त्यसैले पनि निर्माता पोखरेल यो सिनेमा राम्रो बनेकोमा ढुक्क देखिएका छन्। सुशील देवकोटाको लेखन रहेको यो सिनेमाको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। गीतहरू सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यस्तै संगीतकारमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जनाएको छ।
गत भदौ २६ गतेदेखि म्याग्दीबाट छायांकन सुरु भएको यो सिनेमालाई संकल्प भुजेलले खिचेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। नगेन्द्र घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मा सम्हालेका यो सिनेमाको वितरण आर.आर सिनेमाज र ओटीटी राइट ओएसआरले रिलिजपूर्व नै महँगो रकममा खरिद गरिसकेको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’मै आधारित यो सिनेमा निर्माण गरिएको हो। यही नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि सिनेमा निर्देशन गरेका थिए, जुन अत्यधिक सफल भएको थियो।