सिनेसुत्र, बिराटनगर- यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको सिनेमा ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।
सिनेमाले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ। वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका राज कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले ‘परान’प्रति देखाएको चासो प्रशंसनीय छ। नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ।
कार्कीका अनुसार ‘परान’ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ। साथै ३० भन्दा बढी शोसहित अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ। सिनेमा निर्माता रन्जित आचार्यका अनुसार अस्ट्रेलियाको पहिलो चारदिनको बक्स अफिसको कलेक्सनका आधारमा ‘परान’ छैंठौं स्थानमा रहेको छ। अष्ट्रेलियामा ‘परान’ बलिउड र हलिउड सिनेमा बीच प्रदर्शन भइरहेको छ। यसरी हेर्दा ‘परान’ले अष्ट्रेलियाको बक्स अफिसमा यो साता पार गर्दैगर्दा १ लाख अष्ट्रेलियन डलरको आम्दानी पार गर्ने अनुमान गरिएको छ।
नेपालको बक्स अफिसमा सिनेमा ‘परान’को कमाइ हालसम्म १४ करोड नाघेको छ। चौथो शनिबारसम्म सिनेमाले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ। सिनेमा चौथो शनिबार पनि १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो। सिनेमा कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। रिलिजअघि सिनेमा उच्च व्यापार गर्न सक्ने रूपमा हेरिएको थिएन।
दिपक प्रसाद आचार्य निर्देशीत ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रबिण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। सिनेमा लगानीकर्ता रन्जित आचार्य र शेखर गोल्छा हुन्।
