सिनेसुत्र, बिराटनगर- कास्कीको याङ्जाकोटमा सिनेमा ‘डल्लेले इन्ट्री मार्याे’को छायांकन शुक्रबार सम्पन्न भएको छ। सिनेमाका करिब ९० प्रतिशत दृश्य याङ्जाकोट र बाँकी भाग काठमाडौंको गागलफेदी आसपासका स्थानमा खिचिएको निर्माण टिमले जनाएको छ।
छायांकन पूरा भएसँगै सिनेमा अब सम्पादनको चरणमा प्रवेश गरिसकेको निर्देशक राजु गिरीले जानकारी दिए। उनका अनुसार सिनेमाका तीन गीतहरूको छायांकन भने अझै बाँकी छ, जसलाई चाँडै सम्पन्न गर्ने तयारी भइरहेको छ। सिनेमा २०८२ चैत २७ गतेलाई रिलिज डेट लक गरिएको छ। नयाँ वर्षको वातावरणसँगै हलमा आइपुग्ने भएकाले सिनेमा दर्शकको राम्रो साथ पाउनेमा निर्माण टिम आशावादी देखिन्छ।
राजु गिरीको निर्देशनमा तयार भइरहेको यस सिनेमामा मुख्य सहायक निर्देशकका रूपमा बिनयराज पौडेल, लेखनमा लक्ष्मण सुवेदी, छायांकनमा श्याम तामाङ र निर्माण व्यवस्थापनमा सुमन काफ्ले रहेका छन्।
सिनेमामा सागर लम्साल ‘बले’, रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, बिनोद न्यौपाने, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार र रामहरि खड्कालगायत कलाकारको अभिनय रहेको छ। साथै निर्देशक गिरी स्वयं पनि अभिनय भूमिकामा छन्।
अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमारको संगीत रहेको यो सिनेमाको सम्पादन गौतमराज खड्काले सम्हालिरहेका छन् । सिनेमाको वितरण नेशनल सिने ग्रुप नेपालले गर्ने छ । 
