सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ। उँधौली पर्वको बिदालाई अवसर पार्दै आज (बिहीवार) देखि सिनेमा रिलिज भएको हो। सिनेमामा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। ‘अभिमन्यु : च्याप्टर १’ ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो प्राप्त गरेको निर्माणपक्षले जनाएको छ।
गत सोमबार आयोजित प्रिमियर शोमा उपस्थित कलाकार, फिल्ममेकर र अतिथिहरुले सिनेमा प्रशंसनीय रहेको प्रतिक्रिया दिएका थिए। प्रिमियरमा प्राप्त उत्साहजनक प्रतिक्रियाजस्तै प्रदर्शनपछिको वर्ड अफ माउथ पनि सकारात्मक हुने निर्माणपक्षको अपेक्षा छ।
सिनेमाले उठाएको विषयवस्तु, मेकिङ, प्रस्तुति र कलाकारको दमदार अभिनयको तारिफ फिल्ममेकर तथा कलाकारहरूले खुलेर गरेकाले दर्शकले पनि सिनेमा मन पराउनेमा उनीहरू विश्वस्त छन्। “हामीले केही फिल्ममेकर, कलाकार र पत्रकारलाई सिनेमा देखाएका थियौँ। उहाँहरूले मुक्तकण्ठले प्रशंसा गर्नुभयो,” कामेश्वर भन्छन्, “त्यसैले दर्शकको प्रतिक्रिया पनि सकारात्मक हुनेछ भन्नेमा हामी ढुक्क छौँ। दर्शकले जस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसलाई सुझावको रूपमा लिएर हामी अझ राम्रो काम गर्नेछौँ।”
सुशान्त गौतमद्वारा निर्देशित ‘अभिमन्यु’ का क्रिएटिभ निर्देशक मदन थापा हुन्। मुकेश खनालले लेखन गरेको यस सिनेमामा कामेश्वर र लक्ष्मीका साथ किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङ्देललगायत कलाकारको अभिनय देख्न सकिन्छ। अतिथि भूमिकामा रेखा थापा पनि देखिएकी छन्।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। सिनेमाको लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
शरद महतो डिओपी रहेको सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरे सम्पादनमा छन्। यो सिनेमा नेपाली र हिन्दी दुबै भाषामा नेपालभर तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शनमा आएको छ।