सिनेसुत्र, बिराटनगर- गत वर्ष बाउ र छोराबीचको इमोस्नल सम्बन्ध रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ ले ऐतिहासिक ग्रसकलेक्सन गर्यो । नेपालबाट मात्रै झण्डै ५० करोड रुपैयाँ ग्रसकलेक्सन गर्यो । यो सिनेमामा बाउले छोराका लागि गरेको संघर्षलाई दर्शकले मन पराउँदा सिनेमाले ऐतिहासिक रेकर्ड बनायो ।
यो वर्ष अर्को सिनेमा ‘परान’ ले पनि अहिलेसम्मकै धेरै कमाइ गर्यो । यो सिनेमामा पनि बाउ र छोराको कथा नै छ । छोराहरू आफूसँगै बसुन् भन्ने बाउ तर छोराहरू परदेशिने कथा छ । यसमा पनि बाउ र छोराबीचकै इमोस्नल कथा छ । यही इमोस्नल कथा दर्शकले रुचाए ।
अब यस्तै अर्को सिनेमा आउँदैछ, तर यो बाउ र छोराबीचको होइन, बाउ र छोरीबीचको इमोस्नल ड्रामा हो । सन्तानप्रति बाउआमाले गर्ने अथाहा स्नेह र त्याग अहिले नेपाली सिनेमा बजारमा बिक्री भएको कथा हो । यही कथा लिएर सिनेमा ‘मिरमिरे’ माघ १ गते आउँदैछ । छोरीका लागि बाउले गरेको संघर्ष यो सिनेमामा छ । आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ ।
छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य ‘मिरमिरे’मा प्रस्तुत गरिएको छ । छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरमिरे’को निर्माण टिम ढुक्क छ ।
“हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,” ‘मिरमिरे’का निर्देशक यम शेर्पा भन्छन्, “बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो सिनेमाले देखाउँदैछ ।”
हरेक घरघरको कथा भएकाले ‘मिरमिरे’लाई दर्शकले मन पराउने र अधिकांशले आफूमा रिलेट गर्ने उनी बताउँछन् । यार्सा फिल्म्सको प्रस्तुति रहेको यस सिनेमामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो सिनेमा का कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक समेत रहेका सिनेमा वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसरका रूपमा, सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । सिनेमा ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।