२०३० पछि पृथ्वी त्यागिएको कल्पनाबाट सुरु हुने साइन्स फिक्सन ‘एक्लो-१’ को ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- प्रदीप शाहीको निर्देशनमा निर्माण भएको साइन्स फिक्सन सिनेमा ‘एक्लो-१’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

बिहीबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पार्छ । नेपाली सिनेमाको ६ दशक लामो इतिहासमा साइन्स फिक्सन कथावस्तु पहिलो हो । यो सिनेमाले नेपाली दर्शकको साइन्स फिक्सन कथाको अभाव पूर्ति गर्ने विश्वास निर्माण टिमको छ ।

सन् २०२५ को कान्स सिनेमा फेस्टिभलको मार्केटमा प्रचार गरिएको सिनेमा अन्ततः नेपालका थिएटरमा सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । १७ पुस अर्थात १ जनवरी, २०२६ मा सिनेमा रिलिज हुने जनाइएको छ । सिनेमामा प्रदीपसहित बेलायती अभिनेता जेमी बेकन पनि छन् । यो सिनेमामा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । बेकनसँगै कवितालाई बेलायती अन्तरिक्षयात्रीको रोलमा देखाइएको छ । एक्लो कविताको डेब्यू फिचर समेत हो ।मुस्ताङको पहाडमा देखिएका विजय लामाबाट ट्रेलरको सुरुवात हुन्छ । उनी एक रोबोट जस्तै देखिने पात्रसँग छन् । सार्वजनिक ट्रेलरमा प्रदीप चरित्र केही झलक मात्रै देखाइएको छ । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक शाहीले पूर्वीय आध्यात्मिक कथालाई आफूले पश्चिमा जनरामा मिश्रण गरेको बताए ।

काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा सिनेमा छायांकन गरिएको छ । यो सिनेमाले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना सहपाठीसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।उनीहरूले आफ्नो वरपरको क्षेत्र खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । त्यसपछि उनीहरूको अगाडिको कथा सुरु हुन्छ । बाँकी कथालाई दोस्रो अध्यायमा देखाउने जानकारी निर्देशक शाहीले दिए ।

शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको यो सिनेमामा विजय लामा, कविता नेपाली, बेनिशा हमाल, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंहको पनि अभिनय छ ।

यो सिनेमाका निर्माताहरुमा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । सिनेमाको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश गुरुङको सम्पादन तथा राजु तामाङको द्वन्द्व निर्देशन छ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै