सिनेसुत्र, बिराटनगर- चन्द्र पन्त निर्देशित सिनेमा ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो। गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौला र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ भने गायन रबी ओडको रहेको छ।
गीतको भाव अनुसार नै भिडियो निर्माण पक्षले निर्माण गरेको देखिन्छ। जहाँ सन्तानप्रतिको माया, ममता तथा स्नेहको कथालाई सिनेमाले बोल्ने स्पष्टता दिएको छ। गीत रिलिज कार्यक्रममा सिनेमाका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए। ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, उनले गीत रिलिज कार्यक्रममा भने, ‘जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौँ। आज यो टाइटल सँग आ बाट आमा जानु मैले सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो ड्रिम प्रोजेक्ट हो भन्थेँ। सोही गीत आज हामीले रिलिज गर्यौँ। आशा गर्छौँ, यो गीत सबैले मन पराइदिनु हुनेछ।’
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाको डिओपीमा नवराज उप्रेती रहेका छन्। सिनेमाको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन्। सिनेमाका गीतको कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।
अभिमन्यू निरवीले लेखेको यस सिनेमाको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस सिनेमाको कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। सिनेमालाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्। सिनेमाको ट्रेलर टिजर साहिल खानले काटेका छन्।
यसअघि यस सिनेमाको टिजर तथा पोस्टरले दर्शकमाझ कौतुहलता जगाइसकेको छ। नेपालमा सिनेमाको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। सिनेमा आगामी माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ। भिडियो हेर्नुहोस : 