सिनेसुत्र, बिराटनगर- आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘आ बाट आमा’को व्यापक प्रचार–प्रसार थालिएको छ। सोमबार यस सिनेमामा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको थियो भने मंगलबार सुदूरपश्चिम महोत्सवमा अभिनेता पल शाह र अभिनेत्री विपना थापाले सिनेमाको प्रचार गरे। साथै यही गीतको भिडियो समेत रिलिज गरिएको थियो।
उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका छन्। ‘धर्तीमा आँखा खोली, मैले बोलेको त्यो बोली, सृष्टिकै पहिलो नाम ‘‘आ बाट आमा’’’ गीतमा अभिनय गरेपछि दर्शकलाई निकै भावुक बनाएको देखिन्थ्यो। यस महोत्सवमा गाउँ–गाउँबाट हजारौँ दर्शकको उपस्थिति रहेको थियो। पल शाह र विपना थापालाई देखेपछि दर्शकले ‘आई लभ यु पल शाह’ र ‘विपना थापा’ भन्दै हुटिङ गरेका थिए।
उक्त महोत्सवमा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा अत्यन्त खुशी देखिएकी थिइन्। हजारौँ दर्शकमाझ देखिएका पल र विपनाले सिनेमा प्रचारका लागि कुनै कसर बाँकी नराख्ने मुडमा देखिन्छन्। यस सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्। सिनेमाका गीतका भिडियोमा कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। साथै सिनेमाको डिओपी नवराज उप्रेती रहेका छन्।
अभिमन्यू निरवीले लेखेको यो सिनेमाको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस सिनेमाका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। सिनेमाको छायांकन नवराज उप्रेतीले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले काटेका हुन्।
नेपालमा सिनेमाको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। स्मरण रहोस्, यसअघि निर्देशक चन्द्र पन्तले नेपाली सिनेमा ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए।