सिनेसुत्र, बिराटनगर- बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमा ‘परान’ ले देशभरका ३० भन्दा बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रम मा पुगेर न्यानो कपडा वितरण गर्यो ।
सिनेमाका निर्माता रन्जित आचार्य का अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धा का लागि न्यानो कपडा वितरण गरियो । साथै निर्माता आचार्यले आगामी साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषणा पनि गरिने बताएका छन् ।
पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दिक्षा चापागाईं ले परान टिमलाई धन्यवाद दिइन् । उनले केही साताअघि आफ्ना आश्रममा आश्रित बालबालिकालाई परान सिनेमा देखाएकी थिइन् । छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई सिनेमाले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले परान सिनेमा देखाएको बताएकी थिइन् ।
सिनेमाका निर्देशक दिपक प्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको माया देख्दा दंग छन् । उनले यो मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताएका थिए । परानमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।
परान अझै पनि देशभरका ३० हाराहारी सिनेमा हल मा प्रदर्शन भइरहेको छ । शनिबार ३० बढी शो दिएको परानले आइतबार केही कम हल पाएको छ । यद्यपी कतिपय हलमा अहिले पनि हाउसफुलका साथ परान प्रदर्शन भइरहेको छ ।
शनिबार ललितपुरको लबिम मल मा रहेको सिनेमा हल हाउसफुल रह्यो । साथै पश्चिमका केही हलमा पनि दर्शकको राम्रो उपस्थिति थियो । उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वर मा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ । यस्तै मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता शहरहरूमा पनि दर्शकको संख्या राम्रो देखिन्छ ।
सिनेमाका निर्माता रन्जित आचार्य ले परानले ५१ दिन पुरा गर्दा १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । यससँगै परानले नेपाली सिनेमा व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो सिनेमा समेत बनेको छ ।