सिनेसुत्र, बिराटनगर- सिनेमा ‘घरज्वाइँ’ जस्तो सफल सिनेमा निर्देशन गरेका अनिल बुढा मगर ले दोस्रो सिनेमा ‘मितज्यू’ को वर्कसप थालेका छन् । उनले शनिबारबाट सिनेमाको वर्कसप सुरु गरेका हुन् । वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत रहेका छन् ।
सिनेमामा कलाकारहरूले गर्ने भूमिकालाई सहज होस् भन्ने हिसाबले वर्कसप चलाइएको निर्देशक मगरले बताए । उनका अनुसार यो वर्कसप केही दिनसम्म अझै चल्ने छ । सिनेमाका निर्माता जनक घर्ती मगर ले सिनेमाका लागि कलाकारहरूलाई वर्कसपमार्फत आफ्नो भूमिकाबारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए । उनका अनुसार यो सिनेमा आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ ।
उनले भने, सुटिङमा कलाकारले आफ्नो भूमिका बुझेपछि सहज हुन्छ । उनीहरूले सिनेमाको कथा र आफ्नो क्यारेक्टरलाई बुझेपछि अभिनय गर्न पनि सहज हुनुका साथै छायांकन समय र खर्चसमेत कम हुन्छ । स्पोर्टमा नै पुगेर एक्सनकट गर्दा सोचे अनुसारको सिनेमा कलाकारले नदिन सक्छ । त्यसका लागि पनि हामीले वर्कसप थालेका हौँ ।’
जिएम मुभिजको अफिस मा यो वर्कसप चलिरहेको निर्माण पक्षले जानकारी दिएको छ । यस सिनेमामा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्क बहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको छ ।
यस सिनेमाका मुख्य सहायक निर्देशकको रूपमा फिरोज खड्का ले काम गर्दैछन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली, एल्मिना राई रहेका छन् । यस सिनेमाको प्रोडक्सन डिजाइनरको काम किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादन लोकश बज्राचार्य ले गर्दैछन् भने सिनेमाको गीतमा संगीत श्रीकृष्ण बम मल्ल, प्रकाश सपुत को रहने छ । सिनेमाको छायांकन शिशिर शिशङ्खे ले गर्दैछन् भने द्वन्द्व निर्देशन प्रभाद बिष्ट को हुनेछ । साउण्डको काम भने नविन श्रेष्ठ ले समाल्ने छन् । सिनेमाको वितरकमा आर आर फिल्म्स रहेको छ ।
रोल्पाका विभिन्न स्थानमा खिचिने यो सिनेमाको प्रदर्शन मिति समेत तोकिएको छ । निर्माण पक्षका अनुसार सिनेमा आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवस को दिनबाट प्रदर्शनमा आउनेछ ।
