सिनेसुत्र, बिराटनगर- यम शेर्पाको लेखन तथा निर्देशन रहेको सिनेमा ‘मिरमिरे’को टाइटल गीत सार्वजनिक गरिएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा र युवतीबीचको प्रेम, पहिलो भेटपछि हुने आकर्षण र सुन्दरताले मोहित बनाएको कथा प्रस्तुत गरिएको छ । युवकको दृष्टिले युवतीमा पारेको प्रभाव र युवतीको सौन्दर्यको बयान गीतमा सुन्न सकिन्छ ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु देखिएका छन् । भिडियोमा त्रिकोणात्मक प्रेम कथा समेटिएको छ, जहाँ सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशको भावनात्मक द्वन्द्व प्रस्तुत गरिएको छ । यस गीतले सिनेमामा त्रिकोणात्मक प्रेम कथा रहेको संकेत गरेको छ, जुन कुरा यसअघि सार्वजनिक टिजरमा पनि देखिएको थियो ।
माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको टिजर दर्शकले रुचाएका थिए । टिजरमा बाबा र छोरीबीचको भावनात्मक दृश्य समेटिएको थियो, जहाँ मुख्य तीन पात्रबीचको सम्बन्ध र नोकझोक पनि देखाइएको थियो ।सिनेमा ‘मिरमिरे’मा बुवाको भूमिकामा दयाहाङ राई छन् भने छोरीको भूमिकामा शाइसा गौचनले अभिनय गरेकी छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको यस सिनेमामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर रहेका छन् । सिनेमाका कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालक तथा सिनेमा वितरक रोहित कट्टेल छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस सिनेमामा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । सिनेमा ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ । भिडियो हेर्नुहोस :