सिनेसुत्र, बिराटनगर- फागुन १ गतेबाट रिलिजमा आउन लागेको **सिनेमा ‘कल्ली’**को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर हेर्दा सिनेमा बलियो देखिएको छ भने यसको विषयवस्तु पनि फरक खालको छ। किरण नेपालीको निर्माणमा तयार भएको यस सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुनारकै कथामा आधारित सिनेमा महेश दवाडीले लेखेका हुन्।
सिनेमा ‘कल्ली’मा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका रहेको छ। सिनेमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रूपमा देखिएका छन्। नायिका परिक्षा लिम्बुलाई टिजरको अन्त्यतिर देख्न सकिन्छ, जसलाई सिनेमाको सरप्राइज प्याकेजका रूपमा प्रस्तुत गरिएको छ।
निसाल पौडेलको छायांकन रहेको सिनेमामा मिलन श्रेष्ठको सम्पादन छ। आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनबी महर्जनको एक्सन रहेको यस सिनेमाका निर्माण प्रमुख सुरज आचार्य हुन्। सिनेमा ‘कल्ली’ले भगवान् र राक्षसको कथा प्रस्तुत गर्छ। मानिसभित्र हुने देवता र राक्षसको द्वन्द्वलाई केन्द्रमा राखिएको यस सिनेमामा देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोकेको देखाइन्छ भने राक्षसले लोभ, लालच र मोहको प्रतिनिधित्व गर्छ।
मानिसले आफ्नै मनभित्रको देवतालाई दबाएर राक्षसलाई निम्त्याएपछि सिर्जना हुने परिस्थितिको कथा सिनेमाले प्रस्तुत गरेको छ। टिजरमा देखिएको मेकिङ, ब्याकग्राउन्ड स्कोर र संवादले दर्शकलाई हलसम्म तान्ने संकेत दिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा सिनेमा ‘कल्ली’ निर्माण भएको हो। टिजर हेर्नुहोस :