सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा आएको छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस सिनेमाको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत सिनेमाको प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छ।
परदेशिएका नेपालीहरूको कथासँग जोडिएको यस सिनेमाको प्रदर्शन अधिकार हाल विभिन्न मुलुकमा बिक्री भइरहेको छ। यसै क्रममा हालै यस सिनेमाको माल्टाका लागि प्रदर्शन अधिकार पनि बिक्री भएको छ। निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल र विकास ढुङ्गानाबीच माल्टामा प्रदर्शनका लागि सम्झौता भएको हो। माल्टामा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै त्यहाँ सिनेमा वितरण गर्दै आएका ढकालद्वयले सिनेमा खरिद गरेका हुन्।
सिनेमाका निर्देशक चन्द्र पन्तले सिनेमा ‘आ बाट आमा’को माल्टाका लागि प्रदर्शन अधिकार बिक्री गरिएको जानकारी दिए। उनले भने, “हाम्रो सिनेमा माल्टाका लागि प्रदर्शन अधिकार बिक्री गरेका हौँ। राम्रै रकममा बिक्री भएको छ।”
विदेशमा आफ्नो सिनेमाको माग बढ्दै गएपछि निर्देशक पन्त उत्साहित देखिएका छन्। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस सिनेमामा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। साथै, सिनेमाका गीतका भिडियोमा गंभीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीको डिओपी रहेको यस सिनेमामा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ।
सिनेमामा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। नेपालमा यस सिनेमाको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।
