सिनेसुत्र, बिराटनगर- नयाँ नेपाली सिनेमा ‘बम बिहारी’को शुभ मुर्हत गरिएको छ । आज (बुधबार) भक्तपुरमा रहेको हनुमान मन्दिरमा पुजा गर्दै सिनेमाे मुर्हुत गरिएको हो । साथै सिनेमाे आजैबाट छायांकन सुरु गरिएको छ । सिनेमाेलाई डिएमएस मल्ले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकिय सिनेमा हुनेछ । उनले यो भन्दा अघि झण्डै ५० वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
सिनेमाेको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ । सुरुमा काठमाडौंमा एकसाताको छायांकन सिनेमा युनिट नेपालगन्ज लाग्नेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी सिनेमाेको कथा घुम्नेछ । निर्देशक मल्लले भने, ‘पछिल्लो समय सिनेमाेमा नयाँ कलाकार भएपनि कथा र मेकिङ राम्रो छ भने दर्शकहलसम्म गएको उदाहरण धेरै छन् । त्यसैले मलाई विश्वास छ सिनेमा राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।’ सिनेमाेमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ ।
सिनेमाेमा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा ब्यस्त कलाकार सुमन ज्योती न्यौपानेले सिनेमाेमा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे । उनले भनेका छन्, ‘म यो फिल्मको बम बिहारी हुँ अर्थात टाइटल नै मेरो नाम हो । दर्शकले अहिलेसम्म सबैतिर नेगेटिभ भूमिकामै मन पराइदिनुभएको छ । यसमा पनि आशाराखेको छु ।’
यस्तै अर्की मुख्य कलाकार झरना रिसालले सातबर्ष पछि आफूले सिनेमाेमा फेरी काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ सिनेमाेमा काम गरिसकेकी छिन् । झरनाको यो चौथो सिनेमा रहनेछ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहने सिनेमाेमा सरोज बुढाथोकीको मेकअप रहनेछ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् । मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन् । सिनेमाेमा अनुपम चौधरीको गीत रहनेछ । सिनेमाेको प्रदर्शन मिति तय गरिएको छैन ।