‘कमेडी दरबार’ टिम अस्ट्रेलिया टुरमा जाने पक्का : शोभित बस्नेतसँग कागजी सम्झौता

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन्। उक्त टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता समेत गरेका छन्। निर्देशक बस्नेतले टेलिभिजन शो ‘कमेडी दरबार’का टिमसँग अस्ट्रेलिया टुरका लागि कागजी सम्झौता गरेको बताए। उनले भने, ‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले अस्ट्रेलिया टुर गर्न लागिएको हो। उक्त कार्यक्रमका लागि तयारी गरिसकेका छौँ।’उनका अनुसार उक्त टुरमा ‘कमेडी दरबार’का अधिकांश कलाकार सहभागी रहने छन्। आगामी फेब्रुअरी महिनाको बीचबाट सुरु हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ। टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब ८ वटा शहरमा कार्यक्रम आयोजना गरिने निर्देशक बस्नेतले बताए।

कार्यक्रमको तयारीका लागि शोभित बस्नेत चाँडै नै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन्। यस कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने टुर आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहेका छन्। यसैगरी, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले संयुक्त रूपमा अब प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन्। यसअघि शम्भुजित बास्कोटा, यम बराल, आनन्द कार्कीलगायतले अस्ट्रेलियाका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिइसकेका छन्।

सम्बन्धित समाचारसबै