‘मन बिनाको धन’को सफलतापछि सिनेमा ‘बा-आमा’ निर्देशन गर्दै टंक : प्रमुख भूमिकामा अशोक र एआर

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘मन बिनाको धन’को सफलतापछि गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ सिनेमा ‘बा-आमा’ निर्माण गर्ने भएका छन् । आफ्नो डेब्यु सिनेमाबाट बक्स अफिसमा झण्डै ४ करोडको व्यापार गर्दै सफल निर्देशक तथा निर्माताका रूपमा दरिएका टंकले यसपटक पनि आफ्नै चर्चित गीतको शीर्षकमा सिनेमा बनाउन लागेका हुन् ।टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने यो सिनेमा ‘बा-आमा’ मा अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन् । सिनेमा ‘मन बिनाको धन’बाट डेब्यु गरेका बालगायक अशोक र एआर ‘बा-आमा’ मा दोहोरिने भएका छन् भने अन्य कलाकार छनोटको प्रक्रिया बाँकी रहेको निर्देशक बुढाथोकीले बताए ।

टंक बुढाथोकीकै कथा रहने यो सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । सिनेमा विकास बोर्डमा नाम दर्ता भइसकेको यस सिनेमालाई विष्णुमाया मैनालीले निर्माण गर्दैछिन् । यो सिनेमाले नेपाली समाजको पारिवारिक सम्बन्ध र बा-आमाप्रतिको दायित्वलाई उठान गर्ने बुझिएको छ । सबै तयारी सोचेअनुरूप भएमा आगामी वैशाखदेखि सिनेमाको छायांकन सुरु हुने टंकले बताए ।

सम्बन्धित समाचारसबै