सिनेमा ‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा रेकर्ड : यमन श्रेष्ठको स्वर

0 Shares

सिनेसुत्र, बिराटनगर- विपना थापा तथा पल शाहको मुख्य भूमिकामा रहेको सिनेमा ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस सिनेमामा समावेश गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ। रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा रेकर्ड गराएका हुन्। गीतलाई यमन श्रेष्ठले नेवारी भर्सनमा गाएका छन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाइएको यो गीतलाई यमनले नेवारीमा गाउन पाउँदा आफू एकदमै खुशी भएको बताए।‘यो गीतलाई मैले युट्युबमा सुनिरहेको थिएँ। अहिले निकै चर्चित पनि छ,’ उनले गीतको प्रशंसा गर्दै भने, ‘यो ‘आ बाट आमा’ टिमले मलाई यो गीतलाई नेवारी भाषामा पनि गर्नुपर्‍यो भनेर अफर गर्नुभयो। यस गीतको नेवारी शब्द पनि आफैं मिलाउनुहोस् भन्नुभयो। अनि मैले भन्दा पनि बुबा (मदनकृष्ण श्रेष्ठ) लाई यो गीतको शब्द ट्रान्सलेट गरिदिनु भनेँ। मेरो बुबाले नेवारी भाषामा बनाईदिनुभएको हो।’

स्टुडियोमा निकै खुशी देखिएका यमनले आफ्नो भन्दा बुबाको नेवारी भाषा राम्रो भएकाले बुबासँगको सहकार्यमा शब्द तयार गरिएको सुनाए। युट्युबमा गीत हेरेर निकै भावुक बनेको र आफैंले त्यो दृश्य मनन गरेर नेवारीमा गाउँदा झनै भावुक भएको उनले बताए।

उनी थप्छन्, ‘सिनेमामा त एकदमै रोएको देखिन्छ। यहाँ गाउँदा त बडो आफैं पनि रोइएछ।’ नेपाली भाषामा यो गीतलाई गायक रवि ओडले गाएका छन्। आफ्नो सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनोभावसँग सिनेमाको कथा बुनिएको छ।निर्देशक पन्तले सिनेमामा नेपालीका अलावा नेवारी भाषामा पनि गीत रेकर्ड गराइएको बताए। उनले प्रचार शैलीलाई अलि फरक ढंगबाट प्रस्तुत गर्न लागिएको र नेवारी गीत मन पराउने स्रोता तथा दर्शकका लागि यो राम्रो माध्यम हुने विश्वास व्यक्त गरे।

उनले अन्य भाषामा पनि यो गीत रेकर्ड गर्ने सरसल्लाह भइरहेको जानकारीसमेत दिए। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस सिनेमामा विपना थापा, पल शाहका अलावा प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला यस सिनेमाको व्यापक प्रचार–प्रसारमा अभिनेता पल शाह, विपना थापा सहित सम्पूर्ण निर्माण टिम जुटिरहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस सिनेमामा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै सिनेमाका गीतको भिडियोमा कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डीओपी रहेको यस सिनेमामा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।सिनेमामा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस सिनेमाको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।

सम्बन्धित समाचारसबै