बिराटनगरमा ‘बिगुल’को विशेष प्रचार कार्यक्रम सम्पन्न : देशको पीडा र समाधानको कथा लिएर माघ ९ बाट देशभर प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर- माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘बिगुल’ ले पूर्वी शहर बिराटनगरबाट आफ्नो प्रचार-प्रसारलाई तीव्र बनाएको छ। सिनेमाका लेखक तथा निर्माता दिनेश कोइराला र निर्देशक रमेश कोइराला बिराटनगर पुगेर प्रचार अभियानको सुरुआत गरेका हुन्।

बिराटनगरको परोपकार समुह भवनमा आयोजित विशेष प्रचार-प्रसार कार्यक्रममा सिनेमाको युट्युबमा सार्वजनिक ट्रेलर समेत प्रदर्शन गरिएको थियो। ट्रेलर हेरे पछि उपस्थित अतिथिहरूले सिनेमाप्रति उत्साह व्यक्त गर्दै ‘बिगुल’का गीतहरूमा नाचेर कार्यक्रमको माहोललाई अझै रमाइलो बनाएका थिए। निर्माण टिमका अनुसार प्रदर्शन मिति नजिकिँदै जाँदा देशका अन्य शहरहरूमा पनि यस्तै प्रचार-प्रसार कार्यक्रम सञ्चालन गरिनेछ।बिराटनगरमा सम्पन्न कार्यक्रममा विभिन्न संघ-संस्था तथा विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा गणेशमान फाउन्डेसनका अध्यक्ष श्याम पौडेल, नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष तथा लायन्सका पूर्व गभर्नर फुलकुमार लालवानी, सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, एफएनसीसीआईका पूर्व उपाध्यक्ष तथा नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष किशोर प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति बिनोद बस्नेत, लायन्स क्लबका पूर्व गभर्नर रेवत बहादुर कार्की, परोपकार अभियानका अध्यक्ष बाबुराम न्यौपाने, अर्जुनधारा जेसिसका पूर्व अध्यक्ष भीम कुँवर , बिराटनगर जेसिसका पूर्व अध्यक्ष टीका राज ढकाल, जुगल किशोर राठी, दुहबी जेसिसका पूर्व अध्यक्ष सुबास भट्टराई, शम्भु विश्वास तथा बिमला सुवेदी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले सिनेमा ‘बिगुल’ले देशको पीडा, समस्या र समाधानलाई समेत उजागर गरेको भन्दै सिनेमाको सफलताको शुभकामना व्यक्त गरेका थिए।निर्माता तथा लेखक दिनेश कोइराला आफैं राजनीतिज्ञसमेत हुन्। उनले देशमा देखिँदै आएको राजनीतिक अस्थिरता र व्यथितिलाई नजिकबाट निहालेको अनुभव रहेको बताउँदै त्यसको प्रभाव आफ्नो लेखनमा पनि झल्किएको बताए। सार्वजनिक ट्रेलरमा देखिएको कथावस्तु भदौ २२ र २३ मा देखिएको जेन्जी आन्दोलनसँग मिल्दोजुल्दो देखिए पनि, लेखक कोइरालाका अनुसार सिनेमाको कथा आफूले २०८१ मंसिरमै तयार पारेको बताए । देशमा भएको जेन्जी आन्दोलनसँग मेल खानु केवल संयोग मात्र भएको उनको स्पष्टिकरण छ।

देशको समसामयिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षासहित सिनेमा ‘बिगुल’ माघ ९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ। तस्बिर हेर्नुहोस :

सम्बन्धित समाचारसबै