सिनेसुत्र, बिराटनगर- आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली सिनेमा ‘कुमारी’को प्रवर्द्धनका लागि सिनेमा र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर आयोजना हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ। बिहीबार साँझ काठमाडौंमा यस सिनेमाका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले सिनेमा गीतमा प्रस्तुति दिँदै आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।
बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यस एकीकृत प्रमोशनल टुर देशव्यापी रूपमा सञ्चालन हुनेछ। टुरमा ब्यान्डसहित सिनेमाका प्रमुख कलाकारहरू अभिषेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतको सहभागिता रहनेछ।
सिनेमा ‘कुमारी’को सांगीतिक आत्माका रूपमा स्थापित उक्त ब्यान्डलाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ। तालिकाअनुसार माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा कन्सर्ट आयोजना हुनेछ। काठमाडौंमा हुने कन्सर्टमै सिनेमा ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने आयोजकले जानकारी दिएका छन्।
हाल सिनेमाको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ। यस गीतमा स्वर केहर सिंह लिम्बुको रहेको छ भने शब्द सागर लामिछाने मगर र सुमन तामाङ तथा सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ। बिहीबारको कार्यक्रममा केहरले यही गीतसँगै सिनेमाको अर्को गीत ‘कता छौ मेरो फूल’ पनि प्रस्तुत गरेका थिए।
सिनेमा **‘कुमारी’**लाई नेपाली प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ। देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत सिनेमा र सङ्गीतलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको निर्देशक दिनेश राउतले बताए। सिनेमाको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्। भिडियो हेर्नुहोस :

