सिनेसुत्र, बिराटनगर- आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली सिनेमा ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार सिनेमा ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा सिनेमाको एक्सन-सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ। उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी छन्।
ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतलाई देख्न सकिन्छ। ट्रेलरबारे निर्देशक विजय केरुङले सिनेमा दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, सिनेमाको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो सिनेमा दर्शकलाई बाँध्ने विश्वास छ।
सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भन्ने कुरालाई सिनेमाको पर्दामा देखाइएको छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईलीका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ।
एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको यस सिनेमाको निर्देशन विजय केरुङले गरेका हुन्। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।
सिनेमामा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरका साथै ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यस सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ। ट्रेलर हेर्नुहोस :