सिनेसुत्र, बिराटनगर- माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली सिनेमा ‘कुमारी’ को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गर्यो।
कन्सर्टमा सिनेमाका प्रमुख कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको तर्फबाट हुटिङको वर्षा भएको थियो। उनीहरूले अहिलेको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा माहौल अत्यन्तै उत्साहित बनेको थियो। कलाकार द्वयले पोखरेली दर्शकको अभूतपूर्व मायाप्रति आभार प्रकट गर्दै माघ २३ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने सिनेमा ‘कुमारी’ हेर्न आग्रह समेत गरे।
साङ्गीतिक माहौललाई तताउन पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ का सदस्यहरूले सिनेमाका गीतहरू ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना चर्चित सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरेका थिए। सिनेमाका सबै गीतमा स्वर दिएका केहर र उनको ब्यान्डको प्रस्तुतिमा पोखरेली दर्शकहरू मज्जाले झुमेका देखिन्थे। बिग मार्टको प्रस्तुती र पावर्ड बाईमा आयोजित यो कन्सर्टको स्थानीय व्यवस्थापन प्रचारले गरेको थियो।
पोखरामा सिनेमा र कलाकारहरूप्रति देखिएको यो क्रेजले आफू निकै पुलकित भएको निर्देशक दिनेश राउतले बताए। स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उनले दर्शकको यो साथले सिनेमा प्रति थप उत्साह जगाएको उल्लेख गरे। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित यो सिनेमा को टोली अब माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ। आगामी माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा सिनेमाको आधिकारिक ट्रेलर समेत सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको छ।
