सिनेमा ‘कुमारी’ को आक्रामक प्रमोशन : माघ १० मा भृकुटीमण्डपमा निःशुल्क कन्सर्टसहित ट्रेलर रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षितमध्ये एक प्रेम कथानक सिनेमा ‘कुमारी’ ले आफ्नो प्रचार–प्रसारलाई निकै आक्रामक र साङ्गीतिक बनाएको छ। देशका प्रमुख सहरहरूमा साङ्गीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टोलीले आगामी माघ १० गते शनिबार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। सोही विशेष समारोहका बीच सिनेमाको बहुप्रतीक्षित अफिसियल ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।यसअघि माघ १ गते नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी तिरमा भव्य रूपमा सम्पन्न भइसकेको छ।

हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको यस यात्राले सिनेमाप्रति सर्वसाधारणको चासो ह्वात्तै बढाएको छ। पोखरा र चितवनको सफलतापछि सङ्घीय राजधानी छिर्न लागेको ‘कुमारी’ टोलीले भृकुटीमण्डपको कार्यक्रमलाई अझ विशेष बनाउने योजना बुनेको हो।

भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टमा सिनेमाका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ को मुख्य प्रस्तुति रहनेछ। साथै, लोकप्रिय महिला गायन समूह ‘इस्त्रीज’ ले पनि आफ्नो गायकीमार्फत दर्शकलाई झुमाउनेछन्। सिनेमाका कार्यकारी निर्माता केदार भुसालले यो कन्सर्ट पूर्णतया नि:शुल्क रहने जानकारी दिए। उनले सर्वसाधारण दर्शकलाई सिनेमाका कलाकार र सङ्गीतसँग जोड्ने उद्देश्यले कुनै पनि प्रवेश शुल्क नराखिएको बताए।ट्रेलर सार्वजनिक कार्यक्रममा सिनेमाका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारीका साथै निर्देशक दिनेश राउत र सिनेमाको पुरै युनिट तथा अन्य सेलिब्रेटी, पत्रकार र सर्वसाधारणको ठुलो उपस्थिति रहने जनाइएको छ। निर्देशक दिनेश राउतले मोफसलमा देखिएको दर्शकको अभूतपूर्व माया र क्रेजले आफूलाई निकै उत्साहित र पुलकित बनाएको बताएका छन्।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित यस सिनेमाको साङ्गीतिक यात्रा काठमाडौंपछि माघ १७ गते झापाको दमकमा पुगेर समापन हुनेछ। सिनेमामा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा मात्र करिब आधा करोड भ्युजको यात्रा तय गरिसकेको छ भने लाखौँ टिकटक तथा रिल्स बनेका छन्। यस सिनेमाका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले यसअघि नै चर्चा कमाइसकेकाले पनि माघ १० गते सार्वजनिक हुने ट्रेलरलाई लिएर दर्शकमाझ निकै उत्सुकता देखिएको छ।

सम्बन्धित समाचारसबै