सिनेसुत्र, बिराटनगर- माघ २३ गते रिलिज हुने वर्षकै प्रतीक्षित नेपाली प्रेमकथानक सिनेमा ‘कुमारी’ को बहुप्रतीक्षित ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली सिनेमा इतिहासमै ट्रेलर सार्वजनिकतर्फको अभूतपूर्व र ऐतिहासिक घटना बनेको छ।
खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले व्यक्त गरे। उनले यति ठूलो संख्यामा उपस्थित दर्शकको उत्साह अब सिनेमा घरसम्म पनि पुग्ने विश्वास व्यक्त गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकले दिएको मायाले आफूलाई निरन्तर नेपाली सिनेमा क्षेत्रमा सक्रिय रहन थप प्रतिबद्ध बनाएको बताए।
ट्रेलर सार्वजनिक कार्यक्रममा सिनेमाका पार्श्वगायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ को विशेष प्रस्तुति रहेको थियो। साथै लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए। साङ्गीतिक कन्सर्ट र सिनेमा प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
यही सिनेमाबाट डेब्यु गरेका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको बताए। दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए।
सार्वजनिक ट्रेलरले एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक अन्तर्द्वन्द्वहरूलाई ट्रेलरले प्रभावशाली ढङ्गले उजागर गरेको छ। दुई पात्रबीचको प्रेम, सङ्घर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यहरूमार्फत गहिरो रूपमा व्यक्त गरिएको छ।
ट्रेलरमा देखिने पुरुष पात्र (अबिषेक खड्का) संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ।
त्यसैगरी महिला पात्र (आकृति राजभण्डारी) केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्। उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले सिनेमा ‘हेर्नु मात्र होइन, महसुस गर्नुपर्ने कथा’ भएको अनुभूति गराउँछ।
कलाकारहरूको अभिनय, सङ्गीत, सिनेमाटोग्राफी र संवाद ट्रेलरमै उत्कृष्ट देखिएका छन्। दृश्य संयोजनले कथा र भावनालाई आकर्षक तरिकाले प्रस्तुत गर्दै दर्शकमा उत्साह र आशा जगाएको छ। शाहिल खानले सम्पादन गरेको यो ट्रेलर युट्युबको ट्रेन्डिङमा पुगिसकेको छ। कार्यक्रममा उपस्थित प्रेमकथानक सिनेमा का सुपरस्टार आर्यन सिग्देल र ‘शाम्बाला’ सिनेमा की अभिनेत्री थिन्ले ल्हामोले अबिषेक र आकृतिलाई शुभकामना दिएका थिए।
‘आइ एम सरी’ बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथानक सिनेमाहरूका लागि परिचित छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित सिनेमाहरू ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ निर्देशन गरेका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित सिनेमा ‘कुमारी’ मा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ। छायाङ्कन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको, साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ।
यसअघि सार्वजनिक भएका ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले व्यापक चर्चा पाइसकेको सन्दर्भमा ‘कुमारी’ को ट्रेलरले पनि दर्शकको अपेक्षा अझ बढाएको देखिन्छ। ट्रेलर सार्वजनिक समारोहमा ‘डोको बुन्ने’ गीतले ५० लाखभन्दा बढी भ्युज प्राप्त गरेको खुसीयालीमा केक काटेर दर्शकमाझ खुसी साटिएको थियो। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा सुमन तामाङको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेखेका हुन्।
अब दर्शकको नजर माघ २३ गते सिनेमा घरमा पर्दा उत्रिने ‘कुमारी’ तर्फ केन्द्रित भएको छ। ट्रेलर हेर्नुहोस :