सिनेसुत्र, बिराटनगर- सिनेमा ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई यसै सिनेमा का निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह, उषा उप्रेती र सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका हुन्।
निर्देशक चन्द्र पन्तले बर्दियाको बासगढीका दिप्सु परियारलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको जानकारी दिए। उनले भने, ‘हामीले घोषणा गरे बमोजिम नै उहाँलाई हाम्रो टिमबाट पुरस्कारस्वरूप ५१ हजार नगद प्रदान गरेका हौँ।’
एक महिनाअघि ‘आ बाट आमा’ निर्माण टिमले उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो। सहभागीले आ-आफ्नो विधामा तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने नियम राखिएको थियो। सोहीअनुसार दिप्सुले उत्कृष्ट प्रस्तुति दिँदै पुरस्कार हात पारेका हुन्।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको सिनेमा ‘आ बाट आमा’को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेको छ। निर्देशक पन्तकै कथा तथा पटकथामा निर्माण भएको यस सिनेमा मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। माघ १६ गतेदेखि हलमा प्रदर्शन भइरहेको यो सिनेमा सुपरहिट भइसकेको छ।
यस सिनेमा को संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् भने गीतमा कोरियोग्राफी गम्भीर बिष्ट र दिलीप ओखेडाको रहेको छ। डीओपी नवराज उप्रेती रहेका छन्। संवाद अभिमन्यु निरवीले लेखेका हुन् भने संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ। कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। आरआर फिल्म्सले वितरण गरेको यस सिनेमा को डिजिटल अधिकार ओएसआरसँग रहेको छ। 