सिनेसुत्र, बिराटनगर- निर्देशक तथा वरिष्ठ कलाकार निर शाहको निर्देशन रहेको सिनेमा ‘कमला मिस’ को फागुन १ गते शुभमुहूर्त भए संगै यतिबेला राजधानीमा धमाधम छायांकन भइरहेको छ। यही सिनेमामार्फत निर शाह एक दशकपछि पुनः निर्देशनमा फर्किएका हुन्।
सिनेमाको सफलताको कामनासहित ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विशेष पूजा आयोजना गरिएको छ। विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार र सिनेमा युनिटको उपस्थितिमा नाटेश्वरीको पूजा गर्दै छायांकन सफल, सहज र बाधारहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको हो। नेपाली सिनेमा तथा नाट्य परम्परामा कुनै पनि सृजनात्मक कार्य सुरु गर्नु अघि यस्ता पूजा गर्ने प्रचलन रहँदै आएको छ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’ मा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मीको अभिनय रहनेछ। साथै, कलाकार रमेश बुढाथोकी पनि महत्वपूर्ण भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमामा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माताको रूपमा रहेका छन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर, शिवराम श्रेष्ठ छायांकन निर्देशक, युग भुसाल सङ्गीतकार, रामजी लामिछाने कोरियोग्राफर, भोला सुबेदी निर्माण व्यवस्थापक तथा सगर बोहरा मुख्य सहायक निर्देशक रहेका छन्। सिनेमाको कथा, पटकथा तथा संवाद निर शाह, प्रजाल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय निर शाहले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित सिनेमा निर्देशन गरिसकेका छन्। ‘कमला मिस’ लाई पनि दर्शकमाझ फरक विषयवस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
