जेठ १५ मा रिलिज हुने ‘मितज्यू’ को छायांकन सकिएसँगै प्रदर्शन काउन्टडाउन सुरु : दयाहाङ र सौगातसँग तेरियाको डेब्यु

0 Shares

सिनेसुत्र, बिराटनगर-  निर्देशक अनिल बुढा मगरले सिनेमा ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै सिनेमाको सम्पूर्ण छायांकन पूरा गरेका हुन्। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिनामै सिनेमाको सम्पूर्ण छायांकन कार्य सकिएको निर्माता जनक घर्ती मगरले बताए।

उनका अनुसार कलाकार र प्राविधिक पक्षको राम्रो सहकार्यका कारण तोकिएकै समयमा सिनेमाको सुटिङ सम्पन्न भएको हो। यो सिनेमा सामाजिक कथावस्तुमा आधारित छ। दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन भएको यस सिनेमामा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै सिनेमाबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।निर्देशक मगरले सिनेमाको छायांकन रमाइलो वातावरणमा सम्पन्न भएको बताए। सबै पक्षको साथ र मेहनतका कारण छोटो समयमै छायांकन सक्न सफल भएको उनको भनाइ छ। निर्देशक मगरको यो दोस्रो सिनेमा हो। यसअघि उनले घरज्वाइँ निर्देशन गरेका थिए, जुन सिनेमा सफल भएको थियो।

सिनेमाको प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे तथा कार्यशाला भोलाराज सापकोटाले सम्हालेका छन्।त्यसैगरी, सिनेमामा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठ हुन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। सिनेमाका गीतमा संगीतकार मल्लसहित मेलिन राई र लक्ष्मी मल्लको स्वर रहनेछ। आरआर फिल्म्स वितरक रहेको यो सिनेमा आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचारसबै