अमेरिका,क्यानडामा ‘परालको आगो’ सोल्ट आउट : पोस्टर रिलिजसँगै अन्तर्राष्ट्रिय बजार ततायो

0 Shares

सिनेसुत्र, बिराटनगर- सुशील पोखरेलको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। निर्माण पक्षले सिनेमा ‘परालको आगो’को फस्ट लुक्स सार्वजनिक गरेको दुई दिनमै प्रदर्शन अधिकार बिक्री भएको हो।

अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले अधिकार किनेको हो। ती दुई देशका लागि सिनेमा ‘परालको आगो’को प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माता पोखरेलले जानकारी दिए।
‘हाम्रो सिनेमा अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौँ,’ निर्माता पोखरेलले भने, ‘यो बाहेक अन्य देशमा पनि कुराकानी भइरहेको छ।लक्ष्मण सुनारको निर्देशनमा बनेको सिनेमा ‘परालको आगो’ छायांकन अघि नै चर्चामा थियो। बुधबार पोस्टर रिलिज भएपछि दर्शकमाझ थप कौतुहलता देखिएको छ। विदेशमा रहेका नेपाली दर्शकहरूले पनि सिनेमाप्रति विशेष चासो देखाएको निर्माण टिमको भनाइ छ।

यस सिनेमामा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्। पोस्टर सार्वजनिक भएसँगै यी तीन कलाकारलाई एउटै पर्दामा हेर्न दर्शक उत्साहित देखिएका छन्। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई सिनेमा ‘परालको आगो’ले उठान गर्नेछ।

सिनेमामा सौगात, सुहाना र प्रकाशका अलावा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बाँनियाको पनि अभिनय रहेको छ।हरिओम सिने मेकर्स प्रा.लि.को निर्माणमा बनेको सिनेमा ‘परालको आगो’का निर्माता सुशील पोखरेल हुन्। लेखन सुशील देवकोटाको रहेको छ भने छायांकन संकल्प भुजेलले गरेका छन्। नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरको रहेको छ।

भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्। ५.१ मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्। पाश्र्व संगीत किरण तुलाधर, शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपुतको रहेको छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।

यस सिनेमाको कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्। वितरण आर फिल्मसले गर्नेछ भने ओएसआर डिजिटलले डिजिटल राइट्स लिइसकेको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामाथि आधारित यो सिनेमा ४५ वर्षअघि प्रताप सुब्बाले पनि निर्देशन गरेका थिए।

सम्बन्धित समाचारसबै