२० वर्षको अनुसन्धानपछि बनेको सिनेमा ‘लालिमा’ : यौनकर्मीहरूको वास्तविक पीडाको कथा

0 Shares

सिनेसुत्र, बिराटनगर- २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात सिनेमा ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ । हात्तिसारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरूको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि कलाकार लिएर सिनेमा बनाउने निर्णय लिएको बताए ।

उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले पर्दामा देखिन चाहनुभएन । सिनेमा बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो । यौनकर्मीप्रतिको दृष्टिकोण र उनीहरूको वास्तविकताको खाडल पुर्न ‘लालिमा’ निर्माण गरिएको उनले बताए ।विगत लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर गरेको कामकै कारण आफू यस सिनेमामा अनुबन्ध भएको नायिका उषा रजकले बताइन् । उनले भनिन्, ‘कसैको पीडालाई सिनेमा बनाउने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ । तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ । उनीहरुको पीडामा साथ दिएको छ । उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ । सोहीकारण उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो । त्यही भएर म यो सिनेमाको कलाकार बन्न तयार भएँ ।

समस्या परेका यौनकर्मीको आवाज बनेर सिनेमा मार्फत देखिन पाउने अवसर गुमाउन नचाहेको शीर्ष नायिका रोश्नी कार्कीले बताइन् । उनले भनिन्, ‘समाजले यौनकर्मीहरूलाई मानवको दर्जासमेत दिएको छैन । यो सिनेमाको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो । उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ । उहाँहरूको आवाज बन्न म यो सिनेमा मा जोडिएको हो ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस सिनेमा मा रोश्नी र उषासहित नायक जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फागुन २९ बाट प्रदर्शनमा आउने यस सिनेमा का कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो सिनेमा वितरण गर्दै छ ।

सम्बन्धित समाचारसबै