सिनेसुत्र, बिराटनगर- फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका सिनेमा भन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन् । ‘लालिमा’मा नायिका रोश्नी कार्कीले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो नै उनको करिअरको एक विशेष फरक अनुभव हो । त्यसमाथि उनको पात्रको नामबाटै सिनेमा को शीर्षक राखिएको छ ।
शीर्ष भूमिकाको प्रस्तावलाई आफूले अवसर र चुनौती दुवै कोणबाट ग्रहण गरेको रोश्नीले सेयर गरिन् । उनी भन्छिन्, ‘मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो । सिनेमा नै आफ्नो काँधमा लिएर हिँड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो ।’
यस सिनेमा को पात्र ‘लालिमा’ निर्माणका लागि पनि आफूले व्यक्तिगतरूपमा नौलो अभ्यास गरेको उनले बताइन् । उनी भन्छिन्, ‘यो सिनेमा मा मैले यौनकर्मीको भूमिका निर्वाह गरेको छु । यौनकर्मीहरू मैले कहिल्यै देखेको पनि थिइनँ, न निगरानी नै गरेको थिएँ । यही कारण मैले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेट्नुपर्यो । यो मेरो फरक अनुभव हो ।’
नायिका उषा रजक यो सिनेमा मा ‘आमा’को भूमिकामा छिन् । यो पात्रको शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ । ‘लालिमा’मा जस्तै फरक क्षमताको पात्र उनले पहिल्यै निर्वाह गरेकी थिइन् । तर, उनले आफ्नो दुई दशकभन्दा लामो अभिनय करिअरमा लिएको पहिलो निर्णय हो– आमाको भूमिकामा निर्वाह गर्ने ।
प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी यस पटक आमाको क्यारेक्टर भूमिकामा देखिएकी छन् । यसबारे उषा भन्छिन्, ‘मलाई सामाजिक सञ्जालमा “अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्” भनेर प्रतिक्रिया आएको थियो । दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ ।’
‘लालिमा’मा यी दुई नायिकासँगै नायक जीवन भट्टराई हुन् । उनीहरूसहित सिनेमा मा सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । रोशन मिराजको लेखन र निर्देशनमा बनेको यस सिनेमा को ट्रेलर अहिले युट्युबको ट्रेन्डिङ नम्बर ४ मा छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस सिनेमा की कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो सिनेमा वितरण गर्दै छ ।