क्राइम-रिभेञ्ज कथामा बन्नलागेको ‘मुक्तिपुर’ सिनेमा फ्लोरमा : नाजिर हुसैनसहित बलियो कलाकार लाइनअप

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली कथानक सिनेमा ‘मुक्तिपुर’को शुभ मुहूर्त गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै मंगलबारबाटै सिनेमाको छायांकन पनि सुरु गरिएको हो। मंगलबार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजाअर्चना गर्दा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो।

सुनिल पाण्डेको निर्देशनमा बन्ने यो सिनेमा साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुँदैछ। विभिन्न छोटा सिनेमा तथा वृत्तचित्र निर्देशनमा अनुभव बटुलेका युवा निर्देशक पाण्डेका लागि ‘मुक्तिपुर’ ठूला पर्दाको डेब्यू निर्देशन हुनेछ। सिनेमाको कथा पनि निर्देशक पाण्डेकै रहेको छ।पछिल्लो १० वर्षदेखि सिनेमा अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनि सम्बन्धी शिक्षा प्रदान गर्दै आएको फिल्म क्षेत्रको अग्रणी एकेडेमी एभरेष्टले पहिलोपटक सिनेमा निर्माणमा पाइला अघि बढाएको हो।

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको सिनेमामा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह–निर्माता रहेका छन्। सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्युसर रहेको सिनेमामा सम्राट बस्नेत द्वन्द्व निर्देशक छन्। छायांकन सरद महतोले गर्नेछन् भने कला निर्देशन अकी थाक्पा र प्रोडक्सन हेड रुपक प्रताप अधिकारी रहेका छन्।

क्राइम–रिभेञ्ज जनरामा तयार हुने सिनेमाले बदलाको कथा प्रस्तुत गर्नेछ। ‘एक परिवारको प्रतिनिधित्व गर्ने पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा सिनेमाले बोल्नेछ,’ निर्देशक पाण्डेले बताए।

नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती सिनेमामा प्रमुख भूमिकामा रहनेछन्। आकृति बुढाथोकीले भने यही सिनेमाबाट अभिनेत्रीका रूपमा रजतपटमा डेब्यू गर्नेछिन्। अभिनेता नाजिर हुसैनले ‘मुक्तिपुर’ आफ्नो करियरको महत्वपूर्ण इट्टा बन्ने आत्मविश्वाससहित सिनेमामा जोडिएको बताए। ‘हरेक सिनेमा मेरो लागि नयाँ होस् भन्ने चाहन्छु,’ उनले भने, ‘यो सिनेमाले मेरो विगतभन्दा फरक कथा र अभिनय दर्शकलाई पस्किनेछ।म्युजिक भिडियो अभिनयको अनुभव संगालेकी बुढाथोकीले ठूला पर्दामा अभिनय गर्न पाउँदा उत्साहित रहेको बताइन्। अनुभवी निर्माण टिम र कलाकारहरूको लाइनअपमा जोडिनु आफ्नो लागि ठूलो उपलब्धि भएको भन्दै उनले आफ्नो पात्रलाई न्याय दिने विश्वास व्यक्त गरिन्।

यस सिनेमामा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकास खनाल, रुपेश लामा, आयन परियार, श्रवण रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन। कार्यकारी निर्माता श्रेष्ठले छायांकन सम्पन्न भएको मितिले ६ महिनाभित्र सिनेमा प्रदर्शनमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताए।

सम्बन्धित समाचारसबै