सिनेसुत्र, बिराटनगर- नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। साथै सिनेमाको प्रदर्शन मिति समेत तोकिएको छ। यस सिनेमाकी निर्देशक नीता ढुङ्गानाले सिनेमालाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। उनले भनिन्, ‘हामी यहीँ चैत २४ गतेबाट सिनेमाको छायांकनमा निस्किदैछौँ। र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार सिनेमालाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ।
यस सिनेमामा निर्देशक ढुङ्गाना आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन्। नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस सिनेमाको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस सिनेमामा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। उनी पहिलो पटक यस सिनेमामा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।
यस सिनेमामा प्रोडक्सन शंकर पाण्डेले हेर्दैछन् भने कार्यकारी निर्माता पनि उनै रहेका छन्। सिनेमाको सम्पादन साहिल खानको रहने छ भने यस सिनेमाको पोस्टर डिजाइन् रोयल भिमसेनको छ। 