प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री : झापामा चलचित्र ‘पाँच पाण्डव’ धमाधम छायांकन

0 Shares

सिनेसुत्र, बिराटनगर- ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको सिनेमा ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले सिनेमाको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस सिनेमामा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो । छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै सिनेमाको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।

गत चैत २ गते नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस सिनेमामा नेपाली सिने जगत्का दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ । सिनेमाका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् ।यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् । सिनेमाको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिनेमालाई भव्य बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन । ‘हामीसँग हरिवंश दाइ जस्ता दिग्गज कलाकारदेखि नयाँ पुस्ताका प्रिय कलाकारहरू हुनुहुन्छ । यो यस वर्षकै प्रतिक्षित सिनेमा बन्नेमा हामी ढुक्क छौं, श्रेष्ठले भने ।

नवीनले यसअघि गतवर्ष सिनेमा ‘लाज शरणम्’ निर्माण गरेका थिए । सिनेमाको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । ४० दिनको छायांकन तालिका तय गरिएको यस सिनेमाको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो सिनेमालाई श्याम तामाङले खिच्दै छन् । प्राविधिक रूपमा पनि ‘पाँच पाण्डव’ विशेष हुने देखिएको छ । दर्शकले यो सिनेमामा ‘फुल डल्बी एट्मस’ साउन्डको गुणस्तरीय अनुभव गर्न पाउनेछन् ।

म्युजिक नेपालले भर्खरै सञ्चालनमा ल्याएको अत्याधुनिक डल्बी एट्मस साउन्ड स्टुडियोमा यसको साउन्ड डिजाइन र मिक्सिङको काम हुने निर्माण टिमले जनाएको छ । दिग्गज कलाकारहरूको अभिनय, सामाजिक कथावस्तु र अत्याधुनिक प्रविधिको प्रयोगका कारण ‘पाँच पाण्डव’ ले सिने वृत्तमा अहिलेदेखि नै निकै चर्चा कमाउन सफल भएको छ ।  बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस

सम्बन्धित समाचारसबै