सिनेसुत्र, बिराटनगर- सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको नेपाली सिनेमा ‘बाटुलो जून’को प्रदर्शन घोषणा गरिएको छ । प्रमुख अभिनेता अनमोल केसीको सोमबार परेको जन्मदिनको अवसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमा आगामी वर्ष २०८३ को दशैंको फूलपातीको छेकोमा (असोज ३०, अक्टोबर १६) मा रिलिज हुने जानकारी गराएको हो ।
सार्वजनिक पोस्टर प्रचार सामग्रीमा अनमोल र अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमीमा राखिएको पोस्टरमा अनमोलले एक हातमा तत्कालीन परिवेशको प्रकाशको प्रतिबिम्ब राँको बोक्दा अर्को हातले प्रिन्सीको पाउजुसहितको खुट्टा समाएका छन् ।
पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनमा माया गर्नेहरूका लागि उपहार भन्दै ‘दशैंमा भेटौंला’ सन्देश छोडेका छन् । करियरको सुरुवातदेखि नै दर्शक तथा शुभचिन्तकहरूबाट प्राप्त प्रेमप्रति आभार प्रकट गर्दै अनमोलले ‘आफू सधैं राम्रो काममा ताली र कमजोरीमा खबरदारीको प्रतीक्षामा रहने’ बताए ।
ग्रामिण परिवेशको प्रेमकथा जोडिएको सिनेमाको निर्माता जीया केसी र भविष्य खड्का हुन् । ‘सिनेमा हेरिरहँदा दर्शकले आफूलाई ३० वर्ष पहिलेको नेपाली समाजमा पाउनुहुनेछ, साथमा वर्तमानको आभास उत्तिकै हुनेछ,’ निर्माता केसीले भनिन् । ‘जीवनको कुनै न कुनै समयमा प्रेमको स्पर्श गरेका जुनसुकै वर्गका दर्शकका लागि यो सिनेमा समर्पित छ,’ उनले थपिन् । पोस्टरले केसीले भनेजस्तै छनक दिन्छ ।
अनमोल विगतका सिनेमाहरूमा देखिँदै आएको भन्दा बिल्कुल पृथक अवतारमा प्रस्तुत छन् । यो सिनेमालाई अनमोलका पिता अभिनेता भुवन केसीले निर्देशन गरेका हुन् । भुवन आफैं पनि सिनेमामा प्रमुख भूमिकामा छन् । ‘बाटुलो जून’मा भुवन, अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय समावेश छ ।
यो सिनेमालाई काठमाडौं, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको छ । सिनेमामा तेजविक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको सिनेमामा छायांकन राजेश श्रेष्ठको रहेको छ । सिनेमाको करिब १० प्रतिशत छायांकन बाँकी रहेको र यही नयाँ वर्ष २०८३ को छेकोमा पोखरामा सेड्युल लक गरिएको कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।