सिनेसुत्र, बिराटनगर- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा २’मा आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले सोमबार सिनेमाका लागि अनुबन्ध गरेको हो। सिनेमाका निर्देशक चन्द्र पन्तले आकाशलाई सिनेमाको महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेको जानकारी दिए।
उनले भने, ‘हामीले सिनेमाको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित गरिसकेका छौँ। आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमाका लागि विपना थापा, पल शाहका अलावा आकाश श्रेष्ठ रहने छन्। यस बाहेक अन्य कलाकारका बारेमा निर्माण पक्षले केही खुलाएको छैन। वैशाखबाट छायांकनमा निस्किने तयारीमा रहेको यस सिनेमाको कथा निर्देशक पन्तले नै लेखेका हुन्।
हलमा चलिरहेको सिनेमा ‘आ बाट आमा’ले १३ करोडभन्दा माथिको व्यापार गरिसकेको छ। पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले यसको दोस्रो पार्ट निर्माण गर्न लागेका हुन्। पार्ट वानमा विपना थापा आमाको भूमिकामा रहेकी छिन् भने अभिनेता पल शाह छोराको भूमिकामा रहेका छन्। साथै बुवाको भूमिकामा भारतीय वरिष्ठ कलाकार प्रदीप रावत रहेका छन्। दोस्रो भागमा हुन्छन् कि हुँदैनन् भन्ने विषयमा निर्माण पक्षले जानकारी दिएको छैन।
अन्य कलाकारका बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए। आगामी नयाँ वर्ष अर्थात् वैशाखबाट छायांकनमा जाने यस सिनेमाको प्रदर्शन दशैंमा रिलिज गर्ने निर्माण पक्षको तयारीमा छ। सिनेमाको वितरण आरआर फिल्म्सले गर्दैछ।
बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस :