सागर लम्साल (बले) पक्राउ : ब,लात्कार आरोपमा अनुसन्धान सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- हास्य कलाकार सागर लम्साल (बले)लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई बूढानीलकण्ठ नगरपालिका,कपनस्थित बालुवाखानी क्षेत्रबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर प्रकृतिको उजुरी परेपछि लम्साललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनीमाथि कलाकार परिवारकै एक सदस्यले बलात्कारको आरोप लगाएकी छन्।

प्रहरी स्रोतका अनुसार अमेरिकामा बसोबास गर्दै आएकी ती युवतीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन्। सोही उजुरी र सार्वजनिक आरोपका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकारीले पनि लम्साल पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

सागर लम्साल नेपाली मनोरञ्जन क्षेत्रमा ‘बले’ उपनामले परिचित छन्। उनले टेलिश्रृंखला ‘भद्रगोल’ त्यसपछि ‘सक्किगोनी’ मार्फत व्यापक लोकप्रियता हासिल गरेका थिए। अभिनयका अतिरिक्त उनले विभिन्न म्युजिक भिडियोहरूमा पनि काम गरेका छन्। चर्चित कलाकार नै यस्तो गम्भीर आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। प्रहरीले भने निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याइने जनाएको छ। बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस :

सम्बन्धित समाचारसबै