‘शोले’का निर्देशक रमेश सिप्पी र राजेश हमालबीच निफमा रोचक सिनेमा संवाद

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड सिनेमा ‘शोले’का निर्देशक रमेश सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन बोर्डको हलमा भएको यस कार्यक्रममा निर्देशक सिप्पीले सिनेमा ‘शोले’का विषयमा खुलेर कुराकानी गरेका थिए । लेखकद्वय सलीम-जावेदले आफूलाई सिनेमा ‘शोले’ निर्देशन गर्न दिनुका कारणबारे उनले सेयर गरे, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो । त्यो आइडिया पहिले अरु कसैको लागि थियो । उनले यो मेरो प्रकारको सिनेमा होइन भनेर गरेनन् । त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए । म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भुत लेखकहरू थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौं जसमा सबै तत्वहरू थिए ।महानायक हमालले सिनेमाका सबै पात्रसहित घोडाकोसमेत नाम दर्शकलाई याद हुने गरी अद्भुत सिनेमा ‘शोले’ निर्देशन गरेको भन्दै सिप्पीको प्रशंसा गरे । स्क्रिप्ट तयार भएको ६ महिनामा छायाङ्कन सुरु भएको सिप्पीले सुनाए । उनका अनुसार यो सिनेमा एक करोड बजेटमा सक्ने योजनाका साथ १९७३ अक्टोबर २ छायाङ्कन सुरु भएको थियो ।

उनले थपे, ‘तर बन्दै जाँदा यो ३ करोड पुग्यो । मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो ।  हमालले सिप्पीलाई ‘यो सिनेमा असफल भएको भए के हुन्थ्यो ?’ भन्ने प्रश्न गरे । सिप्पीले भने, ‘म यहाँ (निफमा) हुँदैन थिएँ । करिब १ घण्टा हमाल र सिप्पीबीच संवाद भएको थियो । त्यस्तै, आजबाट निफ अन्तर्गत रहेर ‘रसियन सिनेमा डेज’ पनि सुरु भएको छ । सिनेमा ‘अगस्ट’ प्रदर्शन गरी यस कार्यक्रमको सुरुवात गरिएको हो ।

सिजाङ प्यानोरोमा अन्तर्गत चिनियाँ सिनेमाहरूको स्क्रिनिङ पनि शुक्रबारबाटै सुरु भएको छ । यसको उद्घाटन कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा भएको थियो । निफको तेस्रो दिन शनिबारका गतिविधि सिभिल मल, छाया सेन्टर, रसियन हाउस र पर्यटन बोर्डमा हुनेछ । अन्य स्थानमा सिनेमा स्क्रिनिङ र बोर्डमा अन्तर्क्रियात्मक कार्यक्रम हुनेछन् ।बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस :

सम्बन्धित समाचारसबै