डायस्पोरामा उच्च चासो: ‘लालीबजार’को विदेश अधिकार बिक्री खुल्ला

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । सिनेमा तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ । सिनेमामा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै सिनेमाको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेता पनि निर्माण पक्षले प्राविधिक रूपमा तयार भएपछि मात्र सिनेमा प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।

षट्कोण आर्ट्सद्वारा निर्मित सिनेमाहरूले डायस्पोरा वितरकलाई घाटा नगराई मुनाफा दिलाउने भएकाले पनि ‘लालीबजार’ खरिदका लागि विभिन्न प्रस्ताव आइरहेका छन् । डायस्पोरामा राम्रो व्यापार गर्दै दर्शकको विश्वास जित्ने सिनेमा निर्माण कम्पनीका रूपमा षट्कोण आर्ट्स प्रमाणित भइसकेको छ ।

निर्माण कम्पनीका अनुसार सिनेमा तीन साताअघि नै प्रदर्शनका लागि तयार भइसकेको हो । डायस्पोरा अधिकार खरिद गर्ने वितरकलाई प्राविधिक काम अन्तिम चरणमा हुँदा झन्झट हुने भएकाले सिनेमा पूर्ण रूपमा तयार भएपछि मात्र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न लागिएको जनाइएको छ ।सिनेमाका निर्माता म्याक्स दीपेश खत्रीले अब सिनेमाको विदेश प्रदर्शनलाई लक्षित गर्दै वितरण सम्झौतामा अगाडि बढ्ने तयारी भइरहेको जनाएका छन् । उनका अनुसार डायस्पोरा अधिकार खरिदका लागि आएका प्रस्तावमा निर्माण समूहमा छलफल गरेर प्रदर्शन अधिकार बिक्री गरिनेछ ।

‘हामीले पहिला सिनेमा तयार गर्यौं, किनकि सिनेमा तयार नहुँदा अन्तर्राष्ट्रिय वितरकले खेप्नु परेको सास्तीसँग हामी जानकार छौँ । त्यसकारण हामीलाई प्रस्ताव आएता पनि पहिला सिनेमा तयार गरेर कुरा गर्छौँ भनेका थियौँ । अब हामीले सम्झौता गरेसँगै सिनेमा दिन सक्छौँ । हामी वैशाखको पहिलो सातासम्म सम्पूर्ण प्रदर्शन अधिकार बिक्री गर्ने तयारीमा छौँ, निर्माता खत्रीले भने ।

उनले सिनेमामा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै सिनेमाको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेको बताए । गत फागुन २९ मा सार्वजनिक गरेको सिनेमाको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ एक महिना नपुग्दै एक करोड पन्ध्रलाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ भने टिकटकमा हजारौं भिडियो बनिसकेको छ । सिनेमाका लेखक तथा निर्देशक यम थापाले नेपाली सिनेमामा नदेखिएको कथालाई दर्शक माझ ल्याउन लागिएको बताए । उनले भने, ‘हामीले मनोरञ्जनसँगै सामाजिक दायित्व बुझेर लालीबजार तयार गरेका छौँ । नेपाली दर्शकका लागि यो विशेष हुनेछ ।सिनेमा ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यसै सिनेमामार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

विशाल थियटरमा अभिनेता र निर्देशकको रूपमा काम गरिरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनेताका रूपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको सिनेमा ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।

सिनेमामा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ। बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस :

 

 

सम्बन्धित समाचारसबै