सिनेसुत्र, बिराटनगर- नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ सिनेमा निर्माणको घोषणा गरेकी छिन्। नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा तयार हुन लागेको सिनेमाको नाम ‘रत्यौली’ राखिएको छ।
यो सिनेमामा नायिका पूजा शर्मा र नायक विजय बरालको जोडी बाँधिने पक्का भएको छ। विजय र पूजाले सिनेमाको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन्। मुस्कान ढकालको निर्देशनमा तयार हुने यो सिनेमालाई सुरज आचार्यले निर्माण गर्दैछन्।
१ सय भन्दा बढी नेपाली सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरज आचार्यले सुपरहिट भारतीय सिनेमामा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन्। उनले ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका सिनेमामा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन्। उनै सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन्। ३२ वर्षदेखि सिनेमा क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह-निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन्।
सार्वजनिक पोस्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ। पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन्। साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ। यसबाट पनि सिनेमा रमाइलो बन्ने विश्वास गर्न सकिन्छ। सिनेमाको विषयमा अरु केही पनि खुलाइएको छैन। पहिलो पटक सिनेमाको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासोको विषय बन्ने पक्का देखिएको छ।
